११ पुस, काठमाडौं । चार महिनादेखि चलेको राजनीतिक दूरी र आन्तरिक विवादलाई अन्त्य गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक दम्पती रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एकतामा आउन लागेका छन्।

आफ्नै घरभित्रको विवादका कारण छुट्टाछुट्टै राजनीतिक दलको नेतृत्व गरिरहेका उनीहरूले भोलि शनिबार औपचारिक रूपमा पार्टी एकताको घोषणा गर्ने भएका छन्। सिनामंगलस्थित नाउपा नेपालको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे आयोजना हुने विशेष समारोहमा दुवै पक्षबीच एकता घोषणा गरिने तयारी अन्तिम चरणमा पुगेको छ।
नाउपाको यो एकता यात्रा उतारचढावले भरिएको रह्यो। २०७८ पुसमा रेशम चौधरी कारागारमा रहेका बेला रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको पार्टीले छोटो समयमै आम निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको थियो। तर, टीकापुर महाधिवेशनपछि रञ्जितालाई हटाएर रेशम स्वयं अध्यक्ष बनेसँगै सुरु भएको विवादले पार्टी विभाजनतर्फ धकेलियो। त्यसकै परिणामस्वरूप गत भदौ २९ गते रेशमले ‘नाउपा’बाट अलग भई ‘नाउपा नेपाल’ नामक नयाँ दल दर्ता गरेका थिए।
अन्ततः विचार, सिद्धान्त र राजनीतिक लक्ष्य एउटै भएको निष्कर्षमा दुवै पक्ष पुग्दै विभाजनभन्दा एकतामै शक्ति हुने सहमति बनेको हो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार एकतापछि पार्टी संगठन अझ सुदृढ र प्रभावकारी हुनेछ। सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ रहनेछ भने पुरानै झन्डा र चुनाव चिह्नलाई निरन्तरता दिइनेछ।
यो पुनर्मिलनले पछिल्लो समय सुस्ताएको नाउपाको राजनीतिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। साथै, आगामी फागुन २१ मा हुने निर्वाचनमा एकीकृत शक्तिका साथ सहभागी हुने बाटो पनि खुलेको छ।


