Lucky-Khabar_

रवि लामिछाने–बालेन शाहबीच ७ बुँदे सम्झौता: के के हो सम्झौतामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने घोषणा गर्दै ७ बुँदे सम्झौता गरेका छन्।

content ad p2

सम्झौताअनुसार,रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिनेछ।

आगामी एक दशकका लागि मुलुकको समग्र मार्गचित्र प्रस्तुत गर्ने प्रतिबद्धतासहित गरिएको सम्झौतामा सुशासन, सामाजिक न्याय र आर्थिक समुन्नतिलाई मुख्य प्राथमिकतामा राखिएको छ। बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राखिने सहमति भएको छ।

सम्झौतापत्रमा दुवै नेताले आ–आफ्नो पदीय हैसियत उल्लेख नगरी नाममात्रै हस्ताक्षर गरेका छन्। सम्झौतामा पार्टीको विषयवस्तु उल्लेख भए पनि रवि लामिछानेले सभापतिको हैसियतमा हस्ताक्षर गरेका छैनन् भने बालेन शाहले पनि मेयरको पद उल्लेख गरेका छैनन्। सम्झौतापछि बालेन शाहले मेयर पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुने सम्भावना रहेको बताइएको छ।

सम्झौताका पहिलो बुँदामा नवयुवा (जेन–जी) ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने तथा घाइते र शहीद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। दोस्रो बुँदामा नीतिगत, संस्थागत र संरचनागत सुधारमार्फत सामाजिक न्यायसहितको समुन्नत नेपाल निर्माण गर्ने उल्लेख छ। नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्यमा इमान्दार प्रयास गर्ने सहमति पनि गरिएको छ।

सम्झौतामा रवि लामिछाने र बालेन शाहलाई क्रमशः पहिलो र दोस्रो पक्षका रूपमा उल्लेख गर्दै बृहत् राजनीतिक एकताको उद्घोष गरिएको छ। पार्टीको नाम, चिन्ह र झण्डा राष्ट्रिय स्वतन्त्र पार्टीकै रहने स्पष्ट गरिएको छ।

सम्झौतापत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख छ।

यद्यपि, सम्झौतामा कुलमान घिसिङ तथा उनी आवद्ध उज्यालो नेपाल पार्टीबारे कुनै उल्लेख छैन। तर बृहत् एकताका क्रममा अन्य वैकल्पिक शक्तिहरूलाई पनि समेट्ने संकेत गरिएको छ।

पार्टीको संगठनात्मक संरचना सुदृढ बनाउने उद्देश्यले युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने सहमति पनि सम्झौतामा समेटिएको छ।

यो सम्झौता तत्काल कार्यान्वयन गर्ने योजना अनुसार निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख तथा दस्तावेज अद्यावधिक गरिने जनाइएको छ। अब बालेन पक्षका समानुपातिक उम्मेद्वारहरू पनि रास्वपाबाटै प्रतिस्पर्धा गर्नेछन् र सम्भवतः दुई दिनभित्र समानुपातिक उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाइनेछ। प्रत्यक्षतर्फको मनोनयनका लागि भने अझै करिब तीन साता समय बाँकी छ।

उनीहरूले आफ्नो अभियानलाई ‘वैकल्पिक राजनीतिक शक्ति’ को संज्ञा दिँदै रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन आह्वान गरेका छन्। लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत एकताका लागि आमन्त्रण गरिएको छ।

सम्झौतामा पार्टीका अन्य पदाधिकारीहरूको भूमिका तथा उम्मेद्वार चयन र व्यवस्थापनसम्बन्धी विषय भने खुलाइएको छैन। यसअघि पनि रवि लामिछाने र बालेन शाहबीच एकैसाथ निर्वाचनमा जानेबारे पटक–पटक छलफल भए पनि सहमति टुंगिएको थिएन।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासको आदेशबाट रवि लामिछाने रिहा भएपछि पार्टी एकताको छलफलले तीव्रता पाएको हो। यस क्रममा ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि संवाद भएको भए पनि आइतबार बिहान भएको सम्झौतामा उनी समावेश भएका छैनन्।

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर