काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्ने प्रक्रिया तीव्र बनाएका छन् । निर्वाचन आयोगमा आज र भोलिभित्र सूची बुझाउनुपर्ने समयसीमाका कारण प्रमुख दलहरू आन्तरिक छलफल र बैठकमा व्यस्त छन् ।

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छनोटलाई अन्तिम रूप दिन आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसले पुसको पहिलो साताभित्रै सबै जिल्लाबाट उम्मेदवारको सिफारिस संकलन गरिसकेको छ ।
हिजो बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवार छनोटका लागि आवश्यक मापदण्ड तय गरी प्रक्रिया अघि बढाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, महाधिवेशन कार्यतालिकाबारे सामान्य छलफल भए पनि आज र भोलिका बैठक मुख्य रूपमा समानुपातिक उम्मेदवार छनोटमै केन्द्रित रहनेछन् ।
यसपटक कांग्रेसले अघिल्ला निर्वाचनझैँ छुट्टै संसदीय समिति नबनाई केन्द्रीय कार्यसम्पादन समितिमार्फत नै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ ।
उता, नेकपा एमालेले पनि आज सचिवालय बैठक बोलाएको छ । बिहान ११ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा निर्वाचनको तयारी तथा समानुपातिक उम्मेदवार चयनबारे छलफल हुने एमाले सचिव राजन भट्टराईले जानकारी दिए ।
यद्यपि निर्वाचनमा जाने विषयमा औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन, एमाले आन्तरिक तयारीमा जुटेको छ । हिजो प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय छलफलमा सहभागी भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचन प्रक्रियाबाट नभाग्ने स्पष्ट पार्दै निर्वाचनका लागि आवश्यक शान्ति–सुरक्षाको वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको भएको बताएका थिए ।
निर्वाचन आयोगमा बन्द सूची बुझाउने समयसीमा नजिकिँदै जाँदा अन्य राजनीतिक दलहरू पनि समानुपातिक उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटिरहेका छन् ।


