
वीरगञ्ज । धनुषामा भएको मस्जिद तोडफोडको घटनापछि उत्पन्न साम्प्रदायिक तनावका कारण अशान्त बनेको वीरगञ्जमा कर्फ्युको अवधि दोस्रोपटक थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै मङ्गलवार साँझ ६ बजेसम्म कर्फ्यु आदेश निरन्तरता दिएको जनाएको हो।
यसअघि सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको थियो। अवस्था पूर्ण रूपमा सामान्य नदेखिएपछि पहिलो चरणमा दिउँसो १ बजेसम्म र त्यसपछि दोस्रोपटक साँझ ६ बजेसम्म कर्फ्यु थप गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यु क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शङ्कराचार्य गेटसम्म तोकिएको छ। यस अवधिमा आवतजावत, भेला, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ। यद्यपि अत्यावश्यक सेवा तथा पूर्वनिर्धारित परीक्षामा सहभागी हुने परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा सहजीकरण गरिने व्यवस्था कायम छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो।
बैठकमा वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै शान्ति–सुरक्षा व्यवस्थापन, कर्फ्युको अवधि तथा सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल भएको जनाइएको छ। बैठकपछि हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छुट्टाछुट्टै छलफल भइरहेको प्रशासन स्रोतले जनाएको छ।
प्रशासनका अनुसार दुवै समुदायबीचको तनाव न्यूनीकरण गर्दै दीर्घकालीन सद्भाव कायम गर्ने उद्देश्यले साझा समझदारी खोज्ने प्रयास भइरहेको छ। यी छलफलहरूको निष्कर्षपछि कर्फ्युसम्बन्धी थप निर्णय सार्वजनिक गरिने बताइएको छ।
वीरगञ्जका मुख्य चोक तथा संवेदनशील क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति कायम छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नपर्न, संयमता अपनाउन तथा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ। स्थिति सामान्य बन्दै गएपछि कर्फ्यु खुकुलो पार्ने वा हटाउने निर्णय लिइने प्रशासनको भनाइ छ



