Lucky-Khabar_

वीरगञ्जको समृद्धिका लागि सामाजिक र आर्थिक संस्कार अनिवार्य : मेयर सिंह

राम आर्य
वीरगञ्ज — वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना दिगो आर्थिक समृद्धि सम्भव नहुने स्पष्ट पार्नुभएको छ। ‘आत्मनिर्भर समृद्ध वीरगञ्ज–एक विराट सम्भावना’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मानसिकता परिवर्तन नगरी आर्थिक विकास हासिल गर्न नसकिने बताउनुभयो।

मेयर सिंहले समाजमा बढ्दै गएको गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै युवाहरू लहैलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्नेमा जोड दिनुभयो। कसैको प्रभाव वा दबाबमा नपरी सकारात्मक, सिर्जनात्मक र उत्पादनमुखी गतिविधिमा युवाहरू अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो।

content ad p2

वीरगञ्जलाई वैभवशाली शहरका रूपमा विकास गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले संघीय सरकारले शहरलाई उपेक्षा गरेको आरोप लगाउनुभयो। देशभर आपूर्ति हुने अधिकांश सामान वीरगञ्ज हुँदै जाने भए पनि शहरलाई ढुवानी मार्गमा सीमित गरिँदा धुलो–धुवाँको समस्या बढेको र अपेक्षित सुविधा नपाएकोप्रति उहाँले असन्तोष व्यक्त गर्नुभयो।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले उद्यमशीलता प्रवर्द्धन अपरिहार्य रहेको बताउनुभयो। जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु आवश्यक रहेको धारणा राख्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुतमार्ग निर्माणपछि वीरगञ्जको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो। एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी), सुख्खा बन्दरगाह र भन्सार कार्यालयजस्ता संरचना हुँदाहुँदै पनि शहरले प्रत्यक्ष लाभ लिन नसकेको उहाँको भनाइ थियो।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धराशायी हुँदै गएको बताए। तीनै तहका सरकारबाट लगाइने करको बोझले व्यवसायी पलायन हुने अवस्था सिर्जना भएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगञ्ज आर्थिक संस्कारयुक्त शहर भए पनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गर्नुभयो। शहरको पहिचान जोगाउन उपलब्ध सम्भावनाको उचित व्यवस्थापन र प्रवर्द्धन आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रम आयोजक पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले वीरगञ्जको दिगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य भएकाले आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। प्रबन्ध निर्देशक राजेश महर्जनले आर्थिक चेतना र सहकार्यबाट मात्र वीरगञ्जको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने बताए।

अन्तरक्रियामा उद्योगी, चिकित्सक, सञ्चारकर्मी, अर्थविद्, राष्ट्र बैंकका प्रतिनिधि तथा कानुन व्यवसायीहरूले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा बाहिरिने खर्च स्वदेशमै रोक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर