वीरगंज । भोजपुरी लोक तथा आधुनिक संगीतकी चर्चित गायिका कल्पना पटवारी वीरगंज आउने भएकी छन्। माघ १५, १६ र १७ गते आयोजना हुने मधेश साहित्य महोत्सव २०२६ मा सहभागिता जनाउँदै उनले महोत्सवको सांगीतिक सन्ध्यामा विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ।
लोकगीतलाई आधुनिक संगीतसँग संयोजन गर्दै नयाँ पुस्तासम्म पुर्याउन सफल कल्पना पटवारी भोजपुरी संगीत क्षेत्रको स्थापित नाम हुन्। उनका गीतहरू नेपाल र भारतसहित विश्वभर रहेका भोजपुरी भाषी समुदायबीच अत्यन्त लोकप्रिय छन्। उनको आगमनसँगै महोत्सवप्रति दर्शक र संगीतप्रेमीहरूमा थप उत्साह देखिएको छ।
उत्कर्ष नेपालद्वारा आयोजित मधेश साहित्य महोत्सव २०२६ माघ १५, १६ र १७ गते (जनवरी २९–३१, २०२६) वीरगंजस्थित मधेश विश्वविद्यालय परिसरमा आयोजना हुँदैछ। महोत्सवको सांगीतिक सन्ध्यामा कल्पना पटवारीको प्रस्तुति मुख्य आकर्षणमध्ये एक रहने आयोजकको भनाइ छ।
आयोजकका अनुसार उनको प्रस्तुतिले मधेशको लोक–संस्कृति, संगीत र सामूहिक उत्सवको भावनालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। साहित्य, कला, संस्कृति र संगीतको संगमका रूपमा महोत्सवलाई यस वर्ष अझ व्यापक, समावेशी र जनमुखी बनाउने तयारी गरिएको आयोजक संस्थाका जय साहले जानकारी दिए।



