काठमाडौ ।मधेश प्रदेशका चर्चित वक्ता तथा भ्रष्टाचार, अत्याचार र अन्यायका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका प्रख्यात नेता डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गर्ने भएका छन् । सर्लाही क्षेत्र नं. ४ का तत्कालीन प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. सिंह माघ ५ गते जनकपुरधाममा आयोजना हुने विशेष कार्यक्रममा रास्वपामा आबद्ध हुन लागेका हुन् ।

सिद्धान्तनिष्ठता, निडर अभिव्यक्ति र स्पष्ट वक्तृत्वका कारण लामो समयदेखि चर्चामा रहँदै आएका डा. सिंहको रास्वपामा प्रवेशलाई मधेश प्रदेश मात्र होइन, राष्ट्रिय राजनीतिका लागि पनि महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उहाँको आगमनसँगै
सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिको बहस थप सशक्त हुने अपेक्षा गरिएको छ ।
जनकपुरधाममा आयोजना हुने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका राजनीतिक अगुवा, बुद्धिजीवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएका छन् ।


