वीरगञ्ज । पर्सा क्षेत्र नं. ४ अन्तर्गत पोखरिया नगरपालिका–३, बसन्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
पोखरिया नगर समितिको आयोजनामा भएको कार्यक्रममा एमालेसहित विभिन्न दल परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। क्षेत्रीय सभापति जितेन्द्र मिश्रका अनुसार एमालेका अभिमनु मुखिया, राजेश मुखिया, रामलदयाल दास, अजय मुखिया, विश्वजित मुखिया, विजय मुखिया, प्रभु मुखिया र जोखन मुखियालगायत रास्वपामा समाहित भएका हुन्।
पोखरिया नगरपालिकाका सभापति प्रदीप पटेको सभापतित्व तथा संगठन विभाग उप–प्रमुख प्रमोद कुमार सहनीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा विभाग उप–प्रमुख सोनालाल पटेल, क्षेत्र नं. ३ का सभापति मनोज कुर्मी, क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्र र प्रतिनिधि सभा सदस्यका सम्भावित उम्मेदवार टेकबहादुर शाक्यलगायतले मन्तव्य राखेका थिए।
वक्ताहरूले आगामी निर्वाचनमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गरी बालेन शाह नेतृत्वको सरकार निर्माण गर्न जनतालाई आग्रह गरेका छन्।




