काठमाडौं| निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रक्रियामा प्रविधिको दुरूपयोग हुनसक्ने जोखिमप्रति आयोग सचेत र तयारी अवस्थामा रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित निर्वाचनको नैतिकता प्रवर्द्धनका लागि टिकटक र निर्वाचन आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा बोल्दै भण्डारीले प्रविधिको गलत प्रयोगले निर्वाचन प्रक्रियालाई प्रभावित पार्न सक्ने भएकाले सम्भावित जोखिमको पहिचान गरिसकिएको जानकारी दिए।
उनले प्रविधिको दुरूपयोगमार्फत निर्वाचन बिथोल्ने, हस्तक्षेप गर्ने तथा स्वच्छ र शान्त निर्वाचन वातावरणलाई धमिल्याउने प्रयास विभिन्न पक्षबाट हुनसक्ने बताए। विश्व समुदायको ध्यान नेपालको निर्वाचनतर्फ केन्द्रित रहेको उल्लेख गर्दै भण्डारीले निर्वाचनलाई सहयोग पुर्याउन टिकटकले देखाएको प्रतिबद्धता सराहनीय रहेको धारणा व्यक्त गरे।
निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँग गरिएको सहकार्यले भ्रामक सूचनाविरुद्ध सचेतना अभिवृद्धि गर्न र नागरिकको जिम्मेवार तथा सचेत सहभागितालाई बल पुग्ने आयोगको विश्वास छ।
कार्यक्रममा टिकटकका प्रतिनिधिहरूले निर्वाचनको निष्पक्षता सुदृढीकरण गर्न, भ्रामक सामग्री नियन्त्रण गर्न तथा सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइएको बताए।


