२ फागुन, काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि नजिकिँदै जाँदा पशुपतिनाथ मन्दिर परिसरमा तयारीलाई तीव्रता दिइएको छ। यस वर्ष आइतबार पर्ने महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्र विकास कोष ले भक्तजनलाई सहज र व्यवस्थित रूपमा दर्शन गराउने तयारी पूरा गरेको जनाएको छ।

कोषका अनुसार मन्दिर क्षेत्रमा सुरक्षा प्रबन्ध कडा पारिनुका साथै सरसफाइ, पंक्तिबद्ध दर्शन व्यवस्था, पेयजल र स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधाको विस्तार गरिएको छ। पर्वका अवसरमा लाखौं श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ।
महाशिवरात्रि मनाउन देशका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधु–सन्तहरू पशुपति आइपुगेका छन्। परम्पराअनुसार पर्व सम्पन्न भएपछि साधु–सन्तलाई दान–दक्षिणासहित बिदाइ गर्ने व्यवस्था मिलाइनेछ।
यस अवसरमा स्वदेश तथा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ। पर्वकै सन्दर्भमा पशुपति क्षेत्रमा विशेष मेला आयोजना गरिनेछ, जसले धार्मिक तथा सांस्कृतिक माहोललाई अझ उल्लासमय बनाउने विश्वास गरिएको छ।
हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ। यस दिन शिवालयमा बेलपत्र अर्पण गर्ने, उपवास बस्ने तथा रात्रि जागरण गर्ने परम्परा रहिआएको छ। श्रद्धा र भक्ति भावका साथ पूजा–आराधना गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।


