वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवारका समर्थकहरूबीच मंगलबार तनावपूर्ण अवस्था सिर्जना भएको छ।

वीरगञ्ज महानगरपालिका–१५ भेडियाही क्षेत्रमा एमाले उम्मेदवार प्रदीप यादव र रास्वपा उम्मेदवार हरि पन्तका समर्थकहरू आ–आमने–सामने भएका हुन्। आ–आफ्ना पार्टीका चुनाव चिन्हका पक्षमा नारा लगाउँदै सडकमा उत्रिएका समर्थकबीच विवाद बढ्दै जाँदा स्थिति तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार केहीबेर दुबै पक्षबीच धकेलाधकेलसमेत भएको थियो।
घटनापछि रास्वपा समर्थकहरूले आफ्नो पार्टीप्रति बढ्दो जनसमर्थनका कारण अवरोध सिर्जना गरिएको आरोप लगाएका छन्। उनीहरूले शान्तिपूर्ण प्रचार–प्रसारमा अवरोध हुनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्। यद्यपि, यस विषयमा एमाले पक्षबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन।
घटनापछि क्षेत्रमा राजनीतिक तनाव बढेको छ। स्थानीय प्रशासनले भने शान्ति–सुरक्षा कायम राख्न सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।


