राम आर्य
धनुषा । जिल्ला नापी कार्यालय, धनुषाले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन टाइमकार्डसहितको टोकन प्रणाली लागू गरेको छ। कार्यालयले मिति २०८२ चैत ४ गतेदेखि उक्त प्रणालीमार्फत सेवा प्रदान गर्न सुरु गरेको हो।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीहरूले पहिलो पटक टोकन लिएपछि दोस्रो भिजिटमा तोकिएको समयमा उपस्थित भई सहज रूपमा सेवा प्राप्त गर्न सक्नेछन्। यसले अनावश्यक भीडभाड घटाउने र सेवाप्रवाहलाई छिटो तथा पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

जिल्ला नापी कार्यालयका प्रमुख उमेश कुमारले उक्त प्रणालीको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा कार्यालयका कर्मचारीहरू तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यालयले यो प्रणालीले सेवाग्राहीलाई लामो समय कुर्नुपर्ने झन्झट अन्त्य गर्ने र सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ।


