Lucky-Khabar_

सांसद कानुले घरेलु हिंसा पीडितको उपचार खर्च व्यहोर्ने घोषणा

वीरगञ्ज । पर्सा–२ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले घरेलु हिंसाबाट गम्भीर घाइते भएकी हरिकला देवी सहनीको उपचार खर्च आफूले व्यहोर्ने बताएका छन्।

बाराको परवानीपुर गाउँपालिकामा बसोबास गर्ने सहनी हाल वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचाररत छन्। बिहीबार अस्पताल पुगेर पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सांसद कानुले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए। उनले आवश्यक परे आफ्नै तलब वा अन्य स्रोतबाट भए पनि सम्पूर्ण खर्च व्यवस्थापन गर्ने स्पष्ट पारे।

content ad p2

भेटका क्रममा उनले पीडितमाथि क्रूर आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरे। साथै पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकसँग घटनाबारे समन्वय गर्दै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको जानकारी दिए।

सांसद कानुले घटनाको जानकारी पाएपछि काठमाडौंबाट फर्किएलगत्तै अस्पताल पुगेर पीडितलाई भेटेको बताए। त्यसअघि आफू पार्टीको कार्यक्रममा रहेको हुँदा प्रतिनिधिमार्फत प्रारम्भिक जानकारी लिएको उनले उल्लेख गरे।

महिला हिंसा न्यूनीकरणका लागि नीतिगत सुधार आवश्यक रहेको औंल्याउँदै उनले संसद् अधिवेशनमा यस विषयलाई उठाउने र पीडितका लागि राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने प्रतिबद्धता जनाए।

गत आइतबार पर्सागढी नगरपालिका–७ मा घरायसी विवादका क्रममा विश्वनाथ सहनीले आफ्नी श्रीमतीमाथि अमानवीय आक्रमण गरेका थिए। उनले हातखुट्टा बाँधेर काठ काट्ने आरी प्रयोग गरी खुट्टा काटेका थिए।

गम्भीर घाइते सहनीलाई प्रहरी टोलीले उद्धार गरी प्रारम्भिक उपचारपछि नारायणी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एलएस न्युरो अस्पतालमा सारिएको हो।

घटनापछि फरार रहेका आरोपीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। यस घटनाले घरेलु हिंसाको गम्भीरता पुनः उजागर गर्दै यसको नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक रहेको देखाएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर