राम आर्य
बिरगंज | बारा र पर्साका चार जना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धि (हरि) प्रसाद पन्त, क्षेत्र नम्बर २ का सुशील साह कानु तथा बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित इन्जिनियर अरविन्द साहसहित तिन जनाले भोजपुरी भाषामा शपथ लिने तयारी गरेका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित उनीहरूले आफ्नो मातृभाषाप्रति सम्मान जनाउँदै शपथका लागि भोजपुरी भाषा रोजेका छन्।
संघीय संसद् सचिवालयले नेपालीबाहेक अन्य मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि तोकेको समयसीमाभित्रै उनीहरूले भोजपुरी भाषामा शपथ लिने विवरण बुझाएका छन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम आगामी चैत १२ गतेका लागि तय गरिएको छ। उक्त कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।आफ्नो क्षेत्रका नागरिक र मातृभाषाको प्रतिनिधित्व गर्दै उनीहरूले लिन लागेको भोजपुरी शपथलाई विशेष महत्वका साथ हेरिएको छ।


