काठमाडौं,१२ चैत। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आज अपराह्न २ बजे हुँदैछ। सङ्घीय संसद् सचिवालयका अनुसार शपथका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।

शपथ समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनेछन्। यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेल ले केसीलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।
कार्यक्रम सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शपथ ग्रहणका लागि आवश्यक सबै व्यवस्थापन—सिट, रोष्टम, सभामुख आसन तथा सचिवालयका पदाधिकारीका लागि स्थान—तयार गरिएको छ।

सचिवालयका अनुसार यसपटक ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्। संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार शपथको व्यवस्था गरिएको हो।
सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा पासपोर्ट साइजका दुई फोटोसहित निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ। साथै, औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि भनिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलहरूले उल्लेखनीय सिट जितेका छन्। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेकपा (माओवादी केन्द्र)ले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन्।


