वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा वीरगञ्जमा पार्टी कार्यकर्ताहरू सडकमा उत्रिएका छन्।

पर्साको सदरमुकाम वीरगञ्जस्थित घण्टाघर चोकमा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराजुलुस गर्दै ओलीको तत्काल रिहाइको माग गरेका हुन्। प्रदर्शनका क्रममा ‘राजनीतिक प्रतिशोध बन्द गर’ र ‘अध्यक्ष ओलीलाई विना सर्त रिहा गर’ जस्ता नाराहरू लगाइएको थियो।

विरोध कार्यक्रममा एमाले पर्सा जिल्ला अध्यक्ष विश्वमबर शर्मा, नेता बिचारी यादव, जालिम मियाँ र लियाकत अली लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले सरकारले विपक्षी नेतामाथि पूर्वाग्रहपूर्ण ढंगले दमन गरेको आरोप लगाएका छन्। उनीहरूले यसलाई लोकतान्त्रिक मूल्य–मान्यतामाथिको आक्रमणको रूपमा व्याख्या गर्दै आवश्यक परे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओली पक्राउ परेपछि एमालेले देशभर विरोध कार्यक्रमलाई तीव्र बनाएको छ।


