काठमाडौं । अमेरिकाभरि शनिबार ‘नो किङ्स’ अभियानअन्तर्गत विशाल प्रदर्शन भएको छ। देशका सबै ५० राज्यका साथै विश्वका १६ देशमा समेत लाखौँ मानिस सडकमा उत्रिएका छन्।

ट्रम्प प्रशासनको कथित अधिनायकवादी शैली र कडा अध्यागमन नीतिको विरोधमा आयोजना गरिएको यो प्रदर्शन अमेरिकी इतिहासकै सबैभन्दा ठूलो हुनसक्ने आयोजकहरूको दाबी छ।देशभर ३ हजारभन्दा बढी स्थानमा कार्यक्रम तय गरिएको छ। श्रमिक युनियनहरूका साथै ‘इन्डिभिजिबल’ र ‘५०५०१’ जस्ता भुइँतहका संगठनहरूले प्रदर्शनमा सक्रिय सहभागिता जनाएका छन्।

प्रदर्शनको मुख्य केन्द्र मिन्नेसोटा राज्यका सेन्ट पल र मिनियापोलिस सहरलाई बनाइएको छ। हालै त्यहाँ अध्यागमन एजेन्टहरूको कडा कारबाही र संघीय हस्तक्षेपका घटनापछि उक्त क्षेत्र प्रतिरोधको प्रमुख प्रतीक बनेको छ।सेन्ट पलमा आयोजित र्यालीमा सिनेटर बर्नी स्यान्डर्स, अभिनेत्री जेन फोन्डा र गायक ब्रुस स्प्रिङ्स्टिनलगायतका चर्चित व्यक्तित्वहरूको उपस्थिति देखिएको छ। महँगी, इन्धन मूल्यवृद्धि तथा इरानसँगको सम्भावित द्वन्द्वप्रति असन्तुष्टि पनि प्रदर्शनको मुख्य कारण बनेको छ।

सुरक्षालाई मध्यनजर गर्दै आयोजकहरूले प्रदर्शनलाई शान्तिपूर्ण राख्न अपिल गरेका छन्। यद्यपि, अध्यागमन एजेन्टहरूको सम्भावित निगरानी र धरपकडको त्रासका कारण मानव अधिकारवादी संस्थाहरूले सहभागीलाई सतर्क रहन आग्रह गरेका छन्।यसअघि नै ट्रम्प प्रशासनले यस्ता विरोध प्रदर्शनमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।



