काठमाडौं । सिराहा समाज सेवा, काठमाडौँको आयोजनामा सिराहा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) हरूको अभिनन्दन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सिराहाबाट निर्वाचित माननीय सांसदहरू ई. तपेस्वर यादव,डा. शम्भू यादव ,बबलु गुप्ता र शिव यादवलाई दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गर्दै हार्दिक सम्मान गरिएको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले सिराहाको विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रभावकारी पहल गर्न सांसदहरूलाई आग्रह गरेका थिए।


सम्मान ग्रहणपछि बोल्दै सांसदहरूले जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले सिराहाको समग्र विकासका लागि काठमाडौंमा रहेका सिराहाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए।

कार्यक्रममा काठमाडौँमा बसोबास गर्ने सिराहाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक संस्थाले यस्ता कार्यक्रमले जिल्लावासीबीच आपसी एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
सिराहा समाज सेवा, काठमाडौँले आगामी दिनमा पनि सामाजिक, शैक्षिक तथा विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।


