काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज अर्यालसँग संयुक्त राष्ट्रसङ्घकी नेपालस्थित आवासीय संयोजक हाना सिंगर–हाम्दी याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन्।

सभामुखको कार्यकक्षमा सम्पन्न भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहकार्य, दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयन तथा विकास साझेदारीका विविध विषयमा छलफल भएको थियो। भेटका क्रममा सभामुख अर्यालले नेपालमा शान्ति प्रक्रिया, लोकतान्त्रिक अभ्यास र संघीयताको सुदृढीकरणमा संयुक्त राष्ट्रसङ्घले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
त्यसैगरी, उनले दिगो विकास लक्ष्य हासिल गर्न संसद्को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यसका लागि अन्तर्राष्ट्रिय सहयोग अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।
आवासीय संयोजक याहियाले नेपालले दिगो विकास, जलवायु परिवर्तन तथा सामाजिक समावेशीकरणका क्षेत्रमा गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गरिन्। उनले संयुक्त राष्ट्रसङ्घ नेपाल सरकारसँग सहकार्य गर्दै विकासका प्राथमिकताहरू अघि बढाउन प्रतिबद्ध रहेको बताइन्।
भेटवार्तामा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।


