वीरगञ्ज | पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छिपहरमाई गाउँपालिकाबाट ३७० किलोग्राम गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार राति करिब ९:१० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डोमा रहेको झाडीमा लुकाइछिपाइ राखिएको गाँजा फेला पारेको थियो।
प्रहरीले प्लास्टिकमा प्याक गरिएका २५ वटा पोकाभित्र राखिएको अवस्थामा कुल ३७० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। बरामद लागुऔषध आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत का अनुसार उक्त गाँजासँग सम्बन्धित व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र गाँजा कसले तथा कहाँबाट ल्याएर उक्त स्थानमा लुकाएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रदिप पौडेल ले जानकारी दिए।
प्रहरीले लागुऔषध ओसारपसार तथा तस्करीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन खोजी अभियान जारी राखेको जनाएको छ।


