उदयपुर | जिल्ला अस्पताल उदयपुरले बिरामीलाई अनावश्यक रूपमा अन्यत्र रेफर गर्ने कर्मचारी तथा चिकित्सकमाथि कारबाही गरिने चेतावनी दिएको छ। अस्पताल प्रशासनले बिहीबार ‘ध्यानाकर्षण तथा जानकारी’ सम्बन्धी सूचना जारी गर्दै सेवा प्रवाहमा लापरबाही नगर्न सबै कर्मचारीलाई निर्देशन दिएको हो।

अस्पताल प्रशासनका अनुसार पछिल्ला दिनहरूमा तलब–भत्ता, आवश्यक सामग्रीको अभाव तथा सेवा प्रवाहसम्बन्धी विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित हुनुका साथै विभिन्न माध्यमबाट जनगुनासो प्राप्त भएका छन्। जिल्ला प्रशासन कार्यालयबाट समेत अस्पताललाई सचेत गराइएकाले सेवा प्रभावकारी बनाउन विशेष ध्यान दिन आग्रह गरिएको छ।
सूचनामा अस्पतालका ओपिडी, आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी, दन्त उपचार तथा प्रसूति सेवासहित सम्पूर्ण सेवाहरू नियमित सञ्चालनमा रहेको उल्लेख गरिएको छ। कर्मचारी तथा चिकित्सकहरूको तलब–भत्तासम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल भइरहेको पनि प्रशासनले जनाएको छ।

विशेषगरी आकस्मिक कक्षमा आउने बिरामीलाई आवश्यक समन्वय र विशेषज्ञ चिकित्सकको रायबिनै अन्यत्र रेफर गरिएको भन्ने गुनासो आएपछि अस्पताल प्रशासनले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। अस्पतालमै उपचार तथा भर्ना गर्न सकिने अवस्थाका बिरामीलाई समेत अन्यत्र पठाउने गरिएको भन्दै प्रशासनले यस्तो कार्य दोहोरिए नियमानुसार कारबाही गरिने चेतावनी दिएको छ।
अस्पतालले इमर्जेन्सी शाखाबाट बिरामी रेफर गर्नुअघि सम्बन्धित विशेषज्ञ चिकित्सकसँग अनिवार्य परामर्श र समन्वय गर्न निर्देशन दिएको छ। विशेषज्ञको रायबिना बिरामीलाई रेफर गरी जनतालाई सास्ती दिने काम भए सम्बन्धित कर्मचारी जिम्मेवार हुने स्पष्ट पारिएको छ।
यसअघि गत शनिबार अस्पतालका चिकित्सकहरूले पत्रकार सम्मेलन गर्दै अस्पतालमा फिल्टर, साबुन, सर्फ, गज, पञ्जा, कुचोलगायत आधारभूत सामग्रीसमेत अभाव रहेको, अक्सिजन सकिएको तथा प्रयोगशाला, एक्स–रे र हेमोडायलाइसिस सेवा संकटमा परेको बताएका थिए। उनीहरूले ६ महिनादेखि प्रोत्साहन भत्ता नपाएको र अस्पतालमा बजेट अभाव रहेको दाबी गर्दै समस्या समाधान नभए आन्दोलनमा जाने चेतावनी दिएका थिए।
यता, ५० शय्याको जिल्ला अस्पतालको वार्डमा बिरामी संख्या शून्य रहेको जानकारीसमेत सार्वजनिक भएको छ। अस्पताल प्रशासनले भने सेवा प्रवाहलाई सहज, प्रभावकारी र जनमुखी बनाउन सबै कर्मचारी तथा चिकित्सकलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गरेको छ।


