वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतको काज सरुवा भएको छ। उनी पर्साबाट काज सरुवा भई मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा जिम्मेवारी सम्हाल्न जाने भएका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित बिदाइ कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलगायत प्रहरी अधिकृतहरूले डीएसपी बस्नेतलाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रहरी अधिकृतहरूले पर्सामा कार्यरत रहँदा डीएसपी बस्नेतले सूचना प्रवाह, अनुसन्धान समन्वय तथा संगठनको छवि सुदृढ बनाउन पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनीहरूले बस्नेतको व्यावसायिक दक्षता, अनुशासन र जिम्मेवारीपूर्ण कार्यशैलीको सराहना गर्दै नयाँ कार्यस्थलमा पनि सफल कार्यकालको शुभकामना व्यक्त गरे।
बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेललगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
डीएसपी बस्नेतको सरुवासँगै मानव बेचबिखन नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा उनले काठमाडौंमा नयाँ जिम्मेवारी सम्हाल्नेछन्।


