वीरगञ्ज । मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई समाधान गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ–संस्थाका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ।

शनिबार जनकपुरधाममा भएको वार्तामा गृहमन्त्री गुरुङसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
वार्ताको पहिलो चरणमा हिन्दूवादी संगठनका प्रतिनिधिहरूले आफ्ना विभिन्न माग गृहमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्। उनीहरूले हिन्दू राष्ट्र कायम गर्नुपर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, ढुंगामुढा तथा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्नुपर्ने तथा लाउडस्पिकर प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने लगायतका माग अघि सारेका छन्।
वार्तापछि गृहमन्त्री गुरुङले धनुषामा देखिएको समस्या समाधान नभएसम्म आफू जनकपुरधाम नछोड्ने बताएका छन्। उनले दुवै पक्षबीच थप सहमति खोज्न करिब एक घण्टापछि दोस्रो चरणको वार्ता पुनः बस्ने जानकारी दिएका छन्।
सरकार र हिन्दूवादी संगठनबीच माग तथा सम्भावित समाधानका विषयमा विस्तृत छलफल गर्न शनिबार नै दोस्रो चरणको वार्ता हुने जनाइएको छ। वार्ताबाट मधेशमा देखिएको तनाव कम गर्दै शान्ति र सामाजिक सद्भाव कायम गर्ने अपेक्षा गरिएको छ।


