सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ।

मृतक मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरुङबीच सोमबार भएको वार्तामा सहमति जुटेको हो। सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।
साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनबमोजिम तत्काल आवश्यक कारबाही अघि बढाउने सहमति पनि भएको छ।यस्तै, देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियतबारे तत्काल आवश्यक छानबिन सुरु गर्ने सहमति भएको छ। सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।
घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमतिमा उल्लेख छ।सरकारले मृतक मेहताको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी लैजाने व्यवस्था गर्ने र स्थानीय परम्पराअनुसार दाहसंस्कारका लागि आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ।
त्यसैगरी, घटनामा ज्यान गुमाएका तीन जनाको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा चालु वर्षमै बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।सहमतिको कार्यान्वयनसँगै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई राहत र रोजगारी उपलब्ध गराउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।


