वीरगञ्ज । नेकपा (एमाले) पर्साले वीरगञ्ज महानगरपालिका कमिटीको अध्यक्षमा सुन्दरप्रसाद कुर्मीलाई नियुक्त गरेको छ।

एमाले पर्सा जिल्ला कमिटी सचिवालयको २०८३ साउन २ गते बसेको बैठकको निर्णयअनुसार महानगर कमिटीको रिक्त अध्यक्ष पदमा कुर्मीलाई जिम्मेवारी दिइएको हो।
एमाले पर्साले कुर्मीलाई पठाएको नियुक्तिपत्रमा पार्टीको विधान तथा निर्णयअनुसार उनलाई महानगर कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ। साथै, पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइएको छ।
महानगर कमिटीको नेतृत्व सम्हालेसँगै कुर्मीले संगठन विस्तार, पार्टीका नीति तथा कार्यक्रमको कार्यान्वयन तथा कार्यकर्ताबीच समन्वयलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन्।
एमाले पर्सा जिल्ला कमिटीको लेटरहेडमा जारी नियुक्तिपत्रमा जिल्ला कमिटी अध्यक्ष डा. बिश्रामप्रसाद कुर्मी शर्माले हस्ताक्षर गरेका छन्।कुर्मीको नियुक्तिसँगै वीरगञ्जमा एमालेको संगठनात्मक गतिविधिलाई थप सक्रिय र व्यवस्थित बनाउने तयारी अघि बढ्ने एमाले पर्साले जनाएको छ।


