रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालित ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ को कटहरियामा विशेष भेटघाट तथा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रास्वपाका सांसद सुशील कुमार कानु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सो क्रममा स्थानीय नागरिक, पार्टीका क्षेत्रीय तथा पालिका तहका नेता-कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्दै जनताका समस्या, विकास निर्माणका मुद्दा र भावी राजनीतिक कार्यदिशाबारे गहन छलफल गरिएको छ।
प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद कानुले रास्वपा जनताको आवश्यकता र सुशासनका लागि सधैं प्रतिबद्ध रहेको बताउनुभयो। देशव्यापी रूपमा सञ्चालित ‘हामी आउँदै छौँ’ अभियानले तल्लो तहका नागरिकहरूसँग सीधा सम्बन्ध स्थापित गर्न र संगठन विस्तारलाई तीव्रता दिन महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।
सो कार्यक्रममा कटहरिया तथा आसपासका स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। छलफलका क्रममा सहभागीहरूले क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए। रास्वपाले यस अभियानमार्फत जिल्लाका विभिन्न स्थानमा संगठन सुदृढीकरण तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।



