Lucky-Khabar_

बालिका मृत्युबारे चितवनमा गम्भीर छानबिनको लागि समितिको निर्देशन

२० फागुन,काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवन रत्न नगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर  तरिकाले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

content ad p2

समितिको आज सिंहदरवारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रूपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन पनि दिएको हो ।

यही फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालीन पोखरेलको मृत शरीर विद्यालयको छात्राबासमा  फेला परेकी थिइन् ।बैठकले को मृत्युबारे हत्या, आत्महत्या वा दुरुत्साहन के हो ? सो बारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ ।समितिले विद्यालय तथा छात्रावासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्रावासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे मन्त्रालयले अद्यावधिक गर्न निर्देशन दिएको छ ।

विद्यालय शिक्षा विधेयकलाई कसरी चाँडो टुङ्ग्याउनेभन्नेबारे पनि छलफल गरिने सभापति जोशीले जानकारी दिए। बैठकमा सांसदहरुले चितवनमा बालिका मृत्यु भएको घटना लामो समय बितिसक्दा पनि सत्यतथ्य छानबिन नभएको भन्दै सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।

उनीहरूले घटनाको चाँडो छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता किसिमका घटना हुन नदिन दीर्घकालीन उपाय अपनाउन, विद्यालय र छात्रावासको सुरक्षा तथा गुणस्तरका लागि नीतिगत सुधार गर्न पनि आग्रह गरेका छन् ।

बैठकमा आ–आफ्नो धारणा राख्नेमा सांसदहरु देवेन्द्र पौडेल, बद्रीप्रसाद पाण्डे, विद्या भट्टराई, तोसिमा कार्की, विनीता कुमारी सिंह, दिपा शर्मा, ईश्वरी घर्ती, डा. कलुराम राई, रामप्रकाश चौधरी र उर्मिला थेवे थिए ।

‘शालीन पोखरेलको मृत्यु अपराधको घटना’
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चितवनमा बालिका मृत्यु प्रकरणबारे सरकारले गृह मन्त्रालयअन्तर्गत मातहतका निकायले छानबिन गरिरहेको जानकारी पाएको भन्दै उक्त अपराधिक घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरेका छन् ।

“दुःखद घटना सरकारको जानकारीमा आइसकेको छ । यसबारे गम्भीर रूपमा छानबिन भइरहेको छ । बालिका मृत्यु प्रकरण अपराधको घटना हो”, समितिको बैठकमा मन्त्री राईले भने, “घटनाको कडाइका साथ अध्ययन अनुसन्धान गरिनुपर्छ । हत्या वा आत्महत्या भए पनि दुरुत्साहनको अवस्थामा पु¥याउने परिस्थितिबारे अनुसन्धान जरुरी छ ।” उनले छात्रावास निर्देशिकाको कडाइका साथ पालना गर्ने, विद्यालय तथा छात्रावासको प्रभावकारी अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए ।

शिक्षामन्त्री राईले बालिका मृत्युको घटना अत्यन्तै पीडादायी भएको भन्दै आत्महत्या र बलात्कारपछि हत्याका घटना बढिरहेकाले यसलाई न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।

शिक्षा विधेयकमाथि छलफल
समितिको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल प्रारम्भ भएको छ । उक्त विधेयकमाथि संशोधन राख्ने सांसदको न्यून उपस्थितिले आज पूर्ण छलफल हुन सकेन ।

संशोधनकर्ता अमर बहादुर थापाले शिक्षालाई गुणस्तरीय बनाएर मुलुकको विकाससँग जोडिनुपर्ने बिचार राखे । उनले विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय, समयसापेक्ष र रोजगारमैत्री बनाइनुपर्ने खाँचो औँल्याए।

एकसय ६३ दफा रहेको उक्त विधेयकमा एक हजार सात सय ५८ संशोधन परेको समितिले जनाएको छ । रासस

 


सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर