४ वैशाख, जनकपुरधाम । ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा फेरी विवाद भएको छ । १० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घण्टापछि सुरु भएपछी हानाहान र कुर्सी तोडफोड भएको छ ।सदन सुरु भएलगत्तै जनमत पार्टीले पुन: अवरोध सुरु गरेको थियो । उठाएको माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रोपटक सदन अवरोध गरेपछि विवाद भएको हो ।

जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा विवाद सुरु भएको प्रदेश सांसद श्याम पटेलले बताए ।
उनले भने,‘४ घण्टा पछाडि सदन सुरु भयो, तर जनमतको माग सम्बोधन नभएपछि ऊसले फेरि सदनमा विरोध सुरु गरायो ।यसैबीच मुख्यमन्त्रीले जबरजस्ती प्रस्ताव पेश गर्न खोजेपछी जनमत पार्टीसहित कांग्रेसले विरोध जनायो । यही बेला तानातान मात्रै होइन, हानाहानसमेत भयो ।’
उनका अनुसार सदनभित्र विवाद उग्ररुप लिदा केही थान कुर्सीसमेत तोडफोड भएको छ । दोस्रोपटक विवाद भएपछि पुनः मधेश प्रदेशसभा १० मिनेटको लागि स्थगित गरिएको प्रदेशसभामुख रामचन्द्र मण्डलले सूचना जारी गरेका छन् ।
विश्वासको मत लिनका लागि सुरु गरिएको सदनको बैठक जनमत पार्टीले राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानविन गठनको माग गर्दै विरोध जनाएपछि सभामुख मण्डलले सदनको बैठक स्थगित गरेका थिए ।
माग पूरा गर्न मुख्यमन्त्री तयार भएकाले बस्न सभामुख रामचन्द्र मण्डलले आग्रह गरे । सभामुख मण्डलले मुख्यमन्त्री संसदीय समिति मार्फत नै छानबिन गर्न तयार भएको जानकारी गराउँदा समेत जनमतले नाराबाजी गर्न बन्द गरेन । त्यसपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।
आजको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यतालिका थियो ।


