२३ कात्तिक, नारायनगढ़ । बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा दुर्घटना हुँदा ४ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएका थिए ।

दुर्घटनामा ३ पुरुष र १ महिलाको मृत्यु भएको सबै हायस बसमा सवार यात्रुहरु हुन् । मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०र ४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्ट प्रहरीको नियन्त्रणमा छ । बसका सहचालक काठमाडौं महानगरपालिका ३२ बस्ने ३० वर्षीय भोजविक्रम शाह सामान्य घाइते भएका छन् । घाइतेहरुमध्ये ४ जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ भने 2 जना सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।


