२६मन्सिर्, भैरहवा | ३ जना प्रहरी सहित भैरहवा विमानस्थलबाट पक्राउ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका छन्। सुन तस्करी संग्लन आरोपमा प्रहरी र विमानस्थलका कर्मचारी नै पक्राउ परेको यो पहिलो घटना हो।


मंसिर २३ गते दुबईबाट फ्लाइ दुबईको विमानमा भैरहवा आएको एक यात्रुले ल्याएको १५० ग्राम सुनसहित संलग्न प्रहरी जवानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको बुझाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार अधिकृत पवित्रा ज्ञवालीले जानकारी दिइन्।
स्रोतका अनुसार पक्राउ पर्नेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान बाबुलाल विक, विमानस्थल कार्यालय सहयोगी (स्विपर) रुपन्देही मायादेवी गाउँपालिका–२ का राजन यादव र दुबईबाट आएका यात्रु लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनार्दन गुप्ता रहेका छन्।

दुबईबाट सुन लिएर आएको यात्रु गुप्ताले भन्सार क्षेत्रभन्दा पहिला नै पक्राउ परेका स्विपर यादवको सहायतामा जवान विकसम्म सुन पुर्याएर सहज रूपमा विमानस्थल बाहिर निस्किएका थिए। जसपछि विमानस्थल प्रहरीले जवान विकलाई सुनसहित र विमानस्थल बाहिर पुगेका गुप्तालाई पक्राउ गरेको थियो।
पक्राउ परेका व्यक्तिहरूको कसुर अनुसारको मुद्दा दायर गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको र पक्राउ परेका व्यक्तिहरूलाई थुनामा राखिएको भन्सार अधिकृत ज्ञवालीले बताइन्।


