१८पुष, वीरगञ्ज ।रौतहटमा सुरुङ बनाएर ५ लाख बराबरको सामग्री र नगद अत्यन्तै गम्भीर चोरीको घटना घटेको छ । चोरीका समूहले फतुवा विजयपुर नगरपालिका–६ स्थित घरमा सुरुङ खनेर ५ लाख बराबरको धनमाल लुटपाट गरेका छन् ।

पीडित राज किशोर साहका अनुसार, बुधवार राति करिब १२ बजे चोरहरूले घरमा सुरुङ मार्ग हुँदै पसेर ५ वटा मोबाइल, गरगहना र नगद २ लाख रुपैयाँ चोरेका छन् । चोरीपछि साह परिवारले इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराए पनि तत्काल कुनै कदम नचालिएको गुनासो गरेका छन् ।

गाउँका युवाहरूले आफैँ सक्रिय हुँदै चोरी भएको मोबाइलको लोकेसन पत्ता लगाई खोजतलास गर्दा फतुवा गाउँको मठछेउ ४ जना चोरलाई फेला पारेका छन् । पछि, इलाका प्रहरी कार्यालय विजयपुरले उक्त चोरहरूलाई नियन्त्रणमा लिएको छ ।
स्थानीयले बताए अनुसार पक्राउ परेका चोरहरू कलैया क्षेत्रबाट घुम्दै मागेर गुजारा गर्दै आएका थिए । साथै, इलाका प्रहरी कार्यालय सन्तपुरको कमजोर गस्ती व्यवस्थाका कारण बारम्बार यस्ता चोरीका घटना भइरहने गुनासो पनि गाउँलेहरूले गरेका छन् ।

भर्खरै मात्र पेटभर्वा गाउँमा ४ वटा घरमा चोरी भएको घटनाको अनुसन्धान अझै थालिनु नसकेको र निरन्तर चोरीको डरले गाउँले त्रसित बनेका छन् । यस घटनाले सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न स्थानीयले उठाएका छन् ।
प्रहरीले बताए अनुसार घटना सम्बन्धी अनुसन्धान भइरहेको छ ।


