२० पुष,बिराटनगर| ‘मातृभूमि जागरण अभियान’का संयोजक डा. भीम रावललाई विराटनगर विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र नेकपा (एकीकृत समाजवादी)का नेता कार्यकर्ताले शनिबार स्वागत गरेका छन्।

नेकपा (एमाले)बाट निकालिएपछि रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका छन् । त्यसै सिलसिलामा उनी पूर्व आएका हुन्। श्री एयरलाइन्सको जहाजबाट बिहान ११:२० बजेतिर विराटनगर आइपुगेका रावलको स्वागतका लागि राजवादी (दुर्गा प्रसाईंका समर्थक) र नेकपा एसका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए।
उनको स्वागतका लागि नेकपा एसका केन्द्रीय सदस्य ओसिम आलमसहितका नेता कार्यकर्ता विमानस्थल गएका थिए। उनकै स्वागतका लागि दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक बचाउ महाअभियानका संस्थापक केन्द्रीय सदस्य सतिश पोखरेललगायत पनि विमानस्थल पुगे।
विमानस्थलमा उत्रिनेवित्तिकै रावललाई नेकपा एस र प्रसाईंका समर्थकले फूल, रुद्राक्षको माला, अविर लगाएर स्वागत गरेका हुन्। स्वागतका क्रममा प्रसाईंका कार्यकर्ताले ‘जय देश, जय नरेश’का नारा लगाएका थिए।
भीम रावलनिकट स्रोतका अनुसार रावललाई स्वागत गर्नका लागि नेकपा एसका युवा नेताहरुलाई बोलाइएको थियो। तर, राजतन्त्रको पक्षधर पोखरेलसमेत आफ्ना केही सहयोगीसहित पुगेका थिए। नेकपा एसका नेता कार्यकर्ता र राजवादीले एउटै लहरमा बसेर रावललाई स्वागत गरे।
प्रसाईंको महाअभियानका संस्थापक केन्द्रीय सदस्य पोखरेलले राष्ट्रवादी नेताका रूपमा रावललाई स्वागत गरिएको जानकारी दिए। ‘उहाँ (रावल)लाई राष्ट्रवादी अभियन्ताहरुका तर्फबाट भव्य स्वागत गरियो। उहाँ पार्टीले नचिने पनि देश र जनताले चिनेको देशभक्त नेता हो,’ पोखरेलले भने, ‘देशका लागि अपरिहार्य नेताका रुपमा स्वागत गरिएको छ। निकट भविष्यमा नेपालका सबै अभियन्ताहरु र राष्ट्रवादी एक भएर अघि बढ्ने तयारी छ।’
पोखरेल मुलुकमा राजसंस्था फर्काउनुपर्ने अभियानमा छन्। उनी यसअघि शिव सेना नेपाल मोरङको अध्यक्षसमेत थिए। रावलले भने मोरङ र सुनसरीमा समर्थक एवं शुभचिन्तकलाई भेटघाट गर्ने बताइएको छ।




