४ चैत, बारा । जीतपुरसिमरा उपमहानगरपालिका बारा वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ता आईतबार पक्राउ परेका छन् ।

शुक्रबार राति समाजसेवी प्रशुराम गिरीको घरमा २०–२५ जनाको समूह लिएर ढुंगामुढा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।बारा प्रहरी उपरिक्षक सन्तोष तमाङ्गले वडा अध्यक्ष गुप्तालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाईएको जानकारी दिए ।

सो घटनामा प्रशुराम गिरीका नाति कुनाल गिरी र किशन गिरीमाथि पनि अभद्र व्यवहारको मुद्दा चलाइएको छ। साथै, सोही घटनामा यस अघि पक्राउ परेका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता र वडा अध्यक्ष सुनिल गुप्ताका दाजु अनिल गुप्ता भने जमानीमा छुटेका छन् । बारा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक विजयराज पाण्डेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

नेकपा एमाले पार्टीबाट वडा नम्बर ७ मा निर्वाचित वडा अध्यक्ष गुप्ता कहिले जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय अगाडि फोहोर फालेर सेवाग्राहीलाई नै सेवाबाट बञ्चित हुने गरी अवरोध गर्ने, कहिले पत्रकारलाई धम्की दिने र अभद्र व्यवहार गर्ने लगायतका गतिविधि गर्ने गरेका छन् । उनलाई बारा जिल्ला अदालतले जरिवाना र कैद फैसला समेत गरेको छ । प्रशुराम गिरीको घरमा एक समूहले ढुंगामुढा सहित आक्रमण गरेपछि गिरीले हवाई फायर गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुप्ताको नेतृत्वमा रहेको समूहले परशुराम गिरीको घरमा गएर गालीगलौज गर्दै ढुंगामुढा गर्न थालेपछि गिरीले आफनो बचाउकोलागि हावामा एक राउण्ड हवाई फायर गरेको गिरीले बताएका छन् ।
यता वडा अध्यक्ष गुप्ताले आफूले आक्रमण नगरेको दाबी गरेका छन्। उनका अनुसार प्रशुराम गिरीका नातिले जितपुर बजारमा कलवार समुदायका व्यक्तिहरूलाई दिउँसो ‘हात काटिदिन्छु, खुट्टा भाँचिदिन्छु’ भन्दै गाली गरेको बताएका छन् ।


