२५ चैत,वीरगन्ज |वीरगन्जको नारायणी अस्पतालमा सिटिस्क्यान मेसिन बिग्रेको ३ महिनाभन्दा बढी भइसक्दा पनि बनाउन प्रशासनले कुनै चासो दिएको छैन ।सेवाग्राहीले अस्पतालको सिटिस्क्यान मर्मत नहुँदा बाहिर महँगो शुल्क तिर्न बाध्य छन् ।

मेसिनको ट्युब बिग्रेको तीन महिना भइसक्दा पनि अस्पताल प्रशासनले जानाजानी मर्मत नगराएको सेवाग्राहीको आरोप छ । सिटिस्क्यानका लागि अस्पताल पुगेका वीरगन्जका अर्जुन साहले कर्मचारीको मिलेमतोमा सिटिस्क्यान बिगार्ने गरेको आरोप लगाए । पेटको सिटिस्क्यान गराउन गत मंगलबार अस्पताल जाँदा बिग्रेको भनेपछि बाहिर गराएको उनले बताए ।

नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने सेवाग्राहीको आरोप निराधार भएको बताए । २ महिनादेखि सिटिस्क्यानको ट्युब बिग्रेको र सप्लायर्सले सिटिस्क्यानको ट्युब चीनबाट मगाउने प्रक्रिया गरिसकेको दाबी गरे । केही दिन अझै कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

चिकित्सकले कुनै पनि रोगको अनुसन्धान गर्दा शरीरको तन्तु, रक्तनली वा हड्डीको विस्तृत जानकारी आवश्यक परेमा सिटिस्क्यान गर्न सिफारिस गर्छन् ।


