Lucky-Khabar_

रौतहटमा छोरीको शंकास्पद मृत्यु भएपछि पिडित न्याय खोज्दै, प्रहरीले जाहेरीसमेत लिन मानेन:मईतीको भनाई

५ बैशाख,रौतहट । रौतहटमा एक विवाहित महिलाको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीको निष्क्रियता र मिलोमतोको आरोप लगाउँदै पीडित पक्षले न्यायिक छानबिनको माग गरेका छन् ।प्रहरीले किटानी जाहेरी लिन मानेन | मृतक अल्का ठाकुरका परिवारले शुक्रबार गरुडामा पत्रकार सम्मेलन गरी घटना रहस्यमय भएको र प्रहरीले सत्यतथ्य ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।

content ad p2


रौतहटको गढीमाई नगरपालिका–४, संग्रामपुर निवासी रामकिशोर ठाकुरले गत वैशाख १ गते छोरीको अवस्था नाजुक भएको सूचना फोनमार्फत पाएको बताउँदै घटनाबारे जानकारी गराए ।ठाकुरले छोरी अल्काको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी आफन्तमार्फत पाएको बताए ।

अल्काको विवाह २०७६ साल जेठ ५ गते रौतहटकै दुर्गा भगवती गाउँपालिका–३, मत्सरीका सञ्जीव झासँग भएको थियो। ठाकुरका अनुसार प्रेम सम्बन्धका कारण घरबाट भागेपछि विवाह गरिएको थियो । विवाहमा दाइजो नलिने सहमति भए पनि झन्डै २२ लाख रुपैयाँ खर्च गरिएको र पछि गाडी किन्न भन्दै साढे ३ लाख रुपैयाँ पनि ज्वाइँलाई दिइएको उनले बताए ।

ठाकुरले अल्काका श्रीमान् सञ्जीव गत वर्ष जापान जाँदा ७ लाख रुपैयाँ सहयोग गरेको पनि खुलासा गरे । विवाहपछि ६ वर्षसम्म पनि वैवाहिक सम्बन्ध दर्ता नभएको र पारिवारिक सम्बन्ध खासै सुमधुर नभएको गुनासो गरे ।

मृतकका अभिभावकका अनुसार शव फेला परेपछि उनीहरू घटनास्थल पुगेका थिए, जहाँ प्रहरी परिचालन गरी सुरक्षा घेरा बनाइएको थियो ।

‘हामीले शव गौरमा पोस्टमार्टम नगरी काठमाडौँ लैजान माग गरेका थियौं, त्यो माग त पूरा भयो तर काठमाडौँबाट ल्याएपछि हाम्रो छोरालाई शव नदिई जबरजस्ती झा परिवारलाई बुझाइयो’, ठाकुरले गुनासो गरे ।

मृतककी आमा अनिताकुमारी ठाकुरका अनुसार माइती पक्षले शव सद्गतिमा लैजान खोज्दा प्रहरीले लाठी चार्ज गरेको थियो । ‘हाम्रो उजुरी लिन प्रहरी तयार छैन, फोटो खिच्न पनि दिएन’, पत्रकार सम्मेलनमा अनिताले रुँदै भनिन् ।सो  प्रकरणमा जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले घटना गम्भीर भएको स्विकार्दै अनुसन्धान भइरहेको दाबी गरे । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र जाहेरी दर्ता हुन्छ’, भने, ‘ हामी अनुसन्धानमा छौँ ।’

पीडित पक्षले प्रहरी झा परिवारसँग मिलेर घटनालाई आत्महत्या ठह¥याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । ‘यो हत्या हो, हामी न्यायको माग गरिरहेका छौं तर प्रहरीले नै अन्याय गरिरहेको छ’, मृतकका बुबा रामकिशोर ठाकुरले भने ।

कानुनविद् एवम् अधिवक्ता विजय यादवका अनुसार शंकास्पद मृत्युका घटनामा प्रहरीलाई उजुरी लिने कानुनी दायित्व हुन्छ । प्रारम्भिक उजुरी नलिनु कानुनको उल्लंघन हो । पीडित परिवारले छोरीको मृत्यु रहस्यमय भएको, विवाहको कानुनी प्रक्रिया पूरा नगरिएको, आर्थिक शोषण भएको र अब प्रहरीबाट न्यायको आशा गर्न नसकिने अवस्था आएको भन्दै न्यायिक छानबिनको माग गरेका छन् ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर