३१ बैशाख, बारा । रौतहट जिल्लाको बंकुल नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल–भारत सीमा क्षेत्रबाट एक युवतीलाई दिल्लीमा बेच्न लैजाँदै गरेको अवस्थामा सिम्रौनगढका एक युवकलाई नियन्त्रणमा लिएको छ।


एसएसबी ७१ बटालियन जमुनियाका इन्स्पेक्टर राजनन्दन कुमारले जानकारी दिए अनुसार पक्राउ परेका युवकले गाउँकै एक युवतीलाई प्रेम जालमा फसाई घोडासहन हुँदै दिल्ली लगिरहेको थिए । एसएसबीले युवक र युवतीलाई नियन्त्रणमा लिई गहिरो अनुसन्धान सहित सोधपुछ गर्दा उक्त रहस्य खुलेको हो।
नेपालबाट एक युवकले मानव तस्करीको उद्देश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमाक्षेत्र पिल्लर संख्या 3556/2 नजिकै मोटरसाइकलमा जाँदै गरेको अवस्थामा युवा युवतीलाई पक्राउ परेको एसएसबीले जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका नागेश्वर साहको छोरा अन्दाजी वर्ष २५को सुरज गुप्ता रहेको एसएसबी क्याम्प जमुनियाका कम्पनी कमाण्डर राजनन्दन कुमारले बताएका छन्।
पक्राउ परेका युवक र युवती दुवै बारा जिल्लाको सिम्रौनगढ नगर अन्तर्गतको एक गाउँका बासिन्दा हुन्। एसएसबीले आवश्यक कागजात पुरा गरी युवतीका आफन्त, नेपाल प्रहरी, सशस्त्र प्रहरी र एक गैरसरकारी संस्थाको उपस्थितिमा युवक र युवतीलाई नेपाल प्रहरीलाई बुझाएको छ।

यस घटनाले मानव बेचबिखनको गम्भीर समस्यालाई उजागर गरेको छ। नेपाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। पहिले मुख्य नाकाहरुबाट चेलीबेटी बेचबिखन हुने गरेकोमा अहिले मानव तस्करहरुले अन्य सुरक्षित नाकाहरुको प्रयोग गर्न थालेको यो घटनाले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टि गरेका छन्। पक्राउ परेका आरोपी युवा र युवतीको घर बारा जिल्लामा भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि दुवै जनालाई बारा प्रहरीको जिम्मा लगाइएको प्रवक्ता तथा डिएसपी रायले जानकारी दिएका छन्।


