१९साउन,वीरगन्ज| वीरगन्जबाट ससुरालीमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेका एक जना पक्राउ परेको छ। पक्राउ पर्नेमा पर्साकै बिन्दवासिनी गाउँपालिका-५ प्रसौनीभाठा घर भई हाल वीरगन्ज महानगरपालिका-१६ इनर्वास्थित ससुराली घरमा बस्दै आएका ४० वर्षीय साहेब खाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


वीरगन्ज महानगरपालिका-१६ इनर्वा गाउँमा खाँले हतियार लिएर स्थानीयवासीलाई डरत्रास देखाउँदै घुमिरहेको सूचना पाएर इलाका प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले उनलाई एकथान कटुवा पेस्तोलसहित आइतबार बेलुकी पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। इनर्वा गाउँमा खाँलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त कटुवा पेस्तोल बरामद भएको उनले बताए।

पक्राउ परेका खाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनी विरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए।


