काठमाडौं ।नेपालको राजनीतिक इतिहासमा धेरै आन्दोलन भए, धेरैले सत्ता ढाले, संविधान बदले । तर, २०८२ भदौ २३ र २४ गतेको आन्दोलन फरक रह्यो । यसपटक सडकमा युवाहरू थिए, तर कुनै दलको झण्डा थिएन । यो आन्दोलन राजनीतिक पार्टीको हैन, स्वतन्त्र पुस्ताको विद्रोह थियो—जेन–जीको विद्रोह ।

देशमा मौलाएको भ्रष्टाचार, सत्ताधारीको मनपरी र असमानताले युवालाई आक्रोशित बनायो । त्यो आक्रोशले सडक ततायो, गोली चल्यो, रगत बग्यो । कतिपयले जीवन बलिदान दिए, धेरै घाइते भए । तर, त्यसले नेपालको राजनीतिक कोर्सलाई बदलिदियो ।
“देशलाई राम्रो बनाउनुपर्छ”
२४ वर्षीय समीर पौडेल राजनीतिक दलसँग आवद्ध नभई स्वतन्त्र रूपमा आन्दोलनमा होमिएका युवामध्ये एक हुन् ।
‘हामी स्वतन्त्र युवा हौँ, जुन देशलाई सुखी र समृद्ध बनाउन चाहन्छौँ,’ उनी भन्छन्, ‘यो कुनै पार्टी वा राजावादी आन्दोलन होइन, यो नेपालको भविष्यका लागि हो।’
आन्दोलनकै क्रममा चोट पाए पनि समीर निराश छैनन् । बरु गर्व गर्छन्—‘देशका लागि लडेँ भन्ने सन्तोष छ ।’
आमाको आँखामा छोरो–श्रेयस
२४ वर्षीय श्रेयस न्यौपाने गोली लागेर गम्भीर घाइते छन् । आमा सीता पाण्डे आँखाभरी आँसु पार्दै भन्छिन्—
‘मेरो छोरा झगडा गर्ने मान्छे होइन । ऊ त उल्टै पुलिसलाई आन्दोलनकारीबाट जोगाउँदै थियो । तर, त्यही पुलिसले गोली हानेको छ।’
सर्जरीपछि बोल्न नसक्ने श्रेयसलाई देख्दा आमाको मन भत्किन्छ । तर, गर्व पनि हुन्छ—‘मैले जे गर्न सकिनँ, मेरो छोराले गर्यो । आइ एम प्राउड अफ माई सन।’
उनले थप्छिन्—‘यो पुस्ताले ठूलो कुरा चाहेका छैनन्, शान्त वातावरणमा पढ्न र काम गर्न पाए पुग्छ ।’
“हाम्रो रगत पुराना नेताको लागि होइन”
१९ वर्षीय अंकित खनाल, गोरखाका, कलेज पोशाकमै आन्दोलनमा पुगेका थिए । संसद् भवन अगाडि गोली लागेर घाइते भए ।
‘गोली भुइँमा होइन, सिधै आन्दोलनकारीको छाती र टाउकोमा ताकेर हानियो,’ उनी भन्छन्, ‘यो आन्दोलन पुराना नेताहरूलाई चेतावनी हो । अब जनताको माया गर्ने मान्छे मात्र सत्तामा पुग्नुपर्छ।’
अंकित आन्दोलनलाई राजनीतिक लाभका लागि प्रयोग भएकोमा दुःखी छन् ।
‘रवि लामिछाने वा कसैलाई निकाल्न आन्दोलन गरेका होइनौँ । कैदी भागेका छन्, तर हाम्रो रगत त्यसका लागि बगेको होइन,’ उनी प्रष्ट्याउँछन् ।
“संविधानप्रतिको सम्मानले सडकमा ल्यायो”
झापाका २१ वर्षीय केशव फागो लिम्बु कानुन पढ्छन् । उनी देशप्रेम र संविधानप्रतिको विश्वासका कारण आन्दोलनमा होमिए ।
२३ गते दिउँसो गोली लाग्दा घाइते भए ।
‘मेरो आँखै अगाडि तीन जना ढले,’ उनले सुनाए, ‘कसैले ढुङ्गा हाने पनि प्रहरीको गोली ताकेर मार्ने जस्तो थियो ।’
उनले आन्दोलनलाई जित माने पनि अवसरवादीहरूले तोडफोड र हिंसा गरेकोमा दुःख व्यक्त गरे—‘सार्वजनिक सम्पत्ति नष्ट गर्नु हुँदैन, अदालत त मन्दिर जस्तो हो । दोषीहरूलाई सजाय दिनुपर्छ।’
निष्कर्ष
भ्रष्टाचार, असमानता र अन्यायविरुद्ध उठेको जेन–जी आन्दोलनले पुरानो राजनीतिक संस्कृतिलाई गम्भीर प्रश्न उठाएको छ ।
युवाहरूले रगत बगाए, जीवन आहुति दिए । उनीहरूको चाहना स्पष्ट छ—न्यायपूर्ण समाज, स्वच्छ राजनीति, शान्त वातावरण र आफ्नो देशमै भविष्य खोज्ने अवसर।
अब नेतृत्व गर्नेहरूको जिम्मेवारी छ—यो बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगरी, देशलाई सही बाटोमा लैजानु ।




