Lucky-Khabar_

मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने मधेश प्रदेशमा सात दलको निर्णय

विवेक पटेल
जनकपुर| मधेश प्रदेशमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि सात राजनीतिक दलहरू असन्तुष्ट बनेका छन् । उनीहरूले उक्त नियुक्तिलाई संविधानविपरीत भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेका छन् ।

content ad p2

सोमबार बिहान बसेको सात दलको संयुक्त बैठकले संविधानको मर्म र प्रदेशसभामा देखिएको बहुमत गठबन्धनको दाबी बेवास्ता गरी गरिएको नियुक्ति असंवैधानिक भएको निष्कर्ष निकाल्दै कानुनी बाटो अपनाउने निर्णय गरेको हो ।


कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोसपा, जनमत पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टीको सहभागितामा बसेको बैठकले ७४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित रिट निवेदन दर्ता गर्ने तयारी गरेको सात दलको साझा निर्णय छ ।

कांग्रेसका मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले भने,“प्रदेशसभामा स्पष्ट बहुमत भएका दलहरूलाई उपेक्षा गरेर धारा १६८ (३) बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु संविधानविपरीत कदम हो । त्यसैले हामी कानुनी बाटो लिँदैछौं ।”

यसअघि आइतबार मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिएर राजीनामा दिएका थिए । त्यसपछि सात दलले प्रदेश प्रमुख भण्डारीलाई संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका थिए ।

तर, भण्डारीले सो दाबी अस्वीकार गर्दै सोमबार बिहानै बर्दिबासस्थित होटलबाट संविधानको धारा १६८ (३) अन्तर्गत सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।


संयुक्त दलहरूले प्रदेश प्रमुख भण्डारीको कदमलाई “संविधानविपरीत, पक्षपातपूर्ण र राजनीतिक हस्तक्षेपपूर्ण” भन्दै कडा विरोध जनाएका छन् । उनीहरूका अनुसार यो कदमले प्रदेशमा लोकतान्त्रिक अभ्यासको अवमूल्यन गरेको छ र संघीयता प्रति जनविश्वास घटाउने खतरा बढाएको सात दलको आरोप छ ।

रिट दर्ता गर्ने तयारी तीव्र रूपमा भइरहेको र भोलिसम्म सर्वोच्च अदालतमा निवेदन पेश गरिने कांग्रेसले जनाएको छ । अदालतले अब मधेश प्रदेशको सत्ता समीकरणको भविष्य तय गर्ने सम्भावना बढेको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर