बिरगंज | बारामा एक पानी उद्योगका व्यवस्थापक रामकिशोर सिंहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई गिरफ्तार गरेको छ। पक्राउ परेका उनीहरू पर्सा, वीरगञ्ज–२२ का २१ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह हुन्।
सर्लाही धनकौलका निवासी सिंह बाराको पर्सौनी गाउँपालिकास्थित किरण वेभरेज प्रालिमा व्यवस्थापकका रूपमा कार्यरत थिए। उनको शव १२ मंसिरको बिहान उद्योग नजिकको खोल्सामा मृत अवस्थामा फेला परेको थियो।
प्रहरी अनुसन्धानअनुसार उद्योगमा सवारी चालकका रूपमा कार्यरत राजनलाई १० मंसिरमा सिंहले कामबाट हटाएका थिए। कामबाट निकालिएको रिसकै कारण उनले हत्या योजना बनाएको खुलासा भएको छ। यसअघि पनि गाडीको ‘कलज प्लेट’ जलेको विषयमा भएको झगडापछि राजनले काम छोडेका थिए।
११ मंसिरको साँझ राजनले वीरगञ्जमा बसेर प्रमोदसँग मदिरा सेवन गर्दै हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ। उनीहरूले वीरगञ्जबाट ल्याइएको धारिलो हतियार (छुरा) र इँटा प्रयोग गरी उद्योगभित्रै सिंहको हत्या गरेका थिए भन्ने प्रमाण अनुसन्धानबाट पुष्टि भएको बारा प्रहरीले जनाएको छ।
घटना भएको करिब १६ घण्टामै प्रहरीले दुवै अभियुक्तलाई नियन्त्रणमा लिएको हो। मुख्य योजनाकार राजनकुमार राम भारत भाग्न खोज्दै गर्दा पर्साको छिपहरमाई गाउँपालिकास्थित भिस्वा नाकाबाट पक्राउ परेका थिए भने प्रमोद साह वीरगञ्जबाटै पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।





