धादिङ | पृथ्वी राजमार्गअन्तर्गत धुनिबेसी–६ चालिसेमा शुक्रबार बिहान एकै स्थानमा सातवटा सवारी साधन दुर्घटनामा परेका छन्। स्कुल बससहित चार बस, दुई ट्रक र एक मोटरसाइकल आपसमा ठोक्किएर सडक अवरुद्ध बनेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रक अचानक ब्रेक फेल हुँदा अर्को सवारीमा ठक्कर लाग्यो र त्यसपछि श्रृङ्खलाबद्धरूपमा अन्य सवारी पनि दुर्घटनामा परे।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीले घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्था तथा काठमाडौँतर्फ पठाइरहेका छन्। सडक पूर्ण अवरुद्ध बनेको छ भने प्रहरीले दुर्घटनाग्रस्त सवारी हटाएर राजमार्ग सुचारु गर्ने प्रयास जारी राखेको जनाएको छ।


