Lucky-Khabar_

रास्वपाको समानुपातिक सूचीबाट चर्चित व्यक्तिहरुले लिए नाम फिर्ता

वीरगञ्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश तीन चर्चित व्यक्तिले आफ्नो नाम फिर्ता लिएका छन्।

content ad p2

व्यवसायी सचिन ढकाल, कलाकार तथा सञ्चारकर्मी आसिफ शाह र गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङ ईत्यादिहरुले सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उम्मेदवारी त्याग्ने निर्णय सार्वजनिक गरेका हुन्।

समानुपातिक सूची सार्वजनिक भएपछि ‘हुने–खाने’ वर्ग र चर्चित अनुहारलाई प्राथमिकता दिएको भन्दै रास्वपामाथि व्यापक आलोचना भएको थियो। संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तको मर्मविपरीत सूची बनेको आरोपपछि उनीहरूले आत्ममूल्यांकन र दबाबका आधारमा नाम फिर्ता लिएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा तथा एफसी चितवन फुटबल क्लबका अध्यक्ष सचिन ढकालले संविधानको समानुपातिक प्रणालीको मर्मको सम्मान गर्दै सूचीबाट नाम फिर्ता लिएको जनाएका छन्। सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उनले व्यक्तिगत कारण देखाउँदै यसपटक उम्मेदवारी नलिने निर्णय गरेको उल्लेख गरेका छन्।

त्यस्तै, कलाकार तथा सञ्चारकर्मी आसिफ शाहले जनताको भावना विपरीत ‘चोर बाटो’ बाट सांसद बन्ने इच्छा नभएको भन्दै समानुपातिक सूचीबाट बाहिरिएको बताएका छन्। उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेको स्पष्ट पारेका छन्।

उज्यालो नेपाल पार्टीबाट रास्वपामा समाहित भई समानुपातिक सूचीमा परेकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले पनि गहन आत्ममूल्यांकनपछि उम्मेदवारी त्याग्ने निर्णय लिएको बताएकी छिन्। उनले पेसागत जिम्मेवारी र सामाजिक सेवामै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

रास्वपाको समानुपातिक सूचीमा चर्चित व्यक्तिहरू समावेश भएपछि समावेशी सिद्धान्त उल्लङ्घन भएको आरोप लाग्दै आएको छ। तीन जनाले नाम फिर्ता लिएसँगै पार्टीले सूची संशोधन गर्ने अपेक्षा गरिएको छ। निर्वाचन आयोगले समानुपातिक सूची संशोधनका लागि समय उपलब्ध गराइसकेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर