पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाका परिवारसँग भेटघाट गरेका छन्।
आज रास्वपाले आयोजना गरेको जगरनाथपुरको घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पन्तले सहिद दिलिप चौरसियाकी आमा रामज्योती देवी, दाजु पृथ्वी नारायण चौरसियालगायत परिवारका सदस्यहरूसँग भेटघाट गरेका हुन्।
भेटघाटका क्रममा सहिद परिवारले मधेस आन्दोलनको जगमा राजनीति गरेर पछि गएर मधेसीमाथि गोली चलाउने दलहरूसँग सहकार्य गर्दै आन्दोलनकै उपहास गरिएकोप्रति दुःख व्यक्त गरे। उनीहरूले अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका थिए।
उक्त भेटमा रास्वपा उम्मेदवार तथा पर्सा सभापति हरि पन्तले मधेस आन्दोलनका सहिदहरूलाई पनि जेन्जी आन्दोलनका सहिदसरह सम्मानजनक व्यवहार सुनिश्चित गर्न राज्यलाई निरन्तर दबाब दिने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आयोजित पर्सा क्षेत्र नं.–१ अन्तर्गत बिरगंज महानगरपालिका–२२, जगरनाथपुरको घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयले उत्साहपूर्वक सहभागिता जनाउँदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका थिए।
मंगलबार सम्पन्न घरदैलो कार्यक्रमको सुरुवात श्रीराम जानकी मन्दिरमा पूजा–अर्चना गरी गरिएको थियो। त्यसपछि कार्यक्रम जगरनाथपुर चौकबाट प्रारम्भ भई वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य र प्रतिबद्धताबारे जानकारी गराएका थिए। कार्यक्रममा सहभागी स्थानीयवासीले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धित समस्या र सुझावहरू राखेका थिए। उम्मेदवार पन्तले ती समस्याहरूलाई नोट गर्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा रास्वपाका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
निर्वाचन परिचालन समिति, बिरगंज–२२, जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण स्थानीयवासी, पार्टी कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



