बिरगंज| ताजपुरका विभिन्न चोक–चौतारीमा घण्टी चिन्ह अंकित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा–१ का उम्मेदवार हरि पन्तको स्थानीयवासीले स्वागत गरेका छन्। आज ताजपुरमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी हुन पुगेका पन्तलाई स्थानीयले विभिन्न स्थानमा फरक–फरक रङ प्रयोग गरी घण्टी चिन्ह बनाएर स्वागत गरेका थिए।

भेटघाटका क्रममा अधिकांश मतदाताले मुलुकमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र यसको चुनाव चिन्ह घण्टी परिवर्तनको माध्यम बन्न सक्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले यस पटक घण्टी चिन्हमा मतदान गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार पन्तले रास्वपाको विजय समग्र देशको विजय हुने दाबी गर्दै आगामी निर्वाचनमा पार्टी र आफूलाई विजयी बनाउन मतदातासँग आग्रह गरे।घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको बताइएको छ।


