बिरगंज| पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत मुर्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले फरक शैलीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो तथा मतदाता भेटघाटका लागि मुर्ली पुगेका पन्तलाई स्थानीयले काँबर बोकाएर घरदैलो गराएका थिए।

घरदैलोका क्रममा काँबरको अगाडि र पछाडि दुवै भागमा रवि लामिछाने र बालेन साह को तस्बिर झुन्ड्याइएको थियो। स्थानीयले यसलाई समर्थन र ऐक्यबद्धताको प्रतीकका रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रमका क्रममा विभिन्न स्थानमा स्थानीय बासिन्दाले टीका, माला र खादा लगाएर उम्मेदवार पन्तको स्वागत गरेका थिए। उनीहरूले यसपटकको निर्वाचनमा आफ्नै वडाबाट रास्वपालाई अग्रता दिलाएर पठाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्तासहित उल्लेख्य संख्यामा स्थानीय बासिन्दाको उत्साहजनक उपस्थिति रहेको थियो।



