राम आर्य
बिरगंज| पर्सामा एक प्रहरी जवानको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी २४ वर्षीया पत्नी सोनी साह, बाराका १९ वर्षीय विशाल साह र भारतीय नागरिक १९ वर्षीय कन्हैया कुमार पक्राउ परेका हुन्।

प्रहरीका अनुसार २७ वर्षीय विकास चौरसिया सप्तरी दरबन्दी भई बिदामा घर आएका थिए। बिदाकै क्रममा उनी वीरगन्ज आएका बेला आइतबार साँझ हत्या भएको हो। अनुसन्धानबाट चौरसिया र सोनी साहबीच निकट सम्बन्ध रहेको आशंका गरिएपछि घटना घटाइएको खुलेको छ।

सोनी वीरगन्जमै बस्दै आएकी थिइन् भने उनका श्रीमान् सन्तोष साह वैदेशिक रोजगारीमा थिए। एक साताअघि नेपाल फर्किएका सन्तोषले पत्नी र चौरसियाबीच सम्बन्ध रहेको शंका गर्दै योजनाबद्ध रूपमा आक्रमण गराएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
आइतबार साँझ करिब ४:३० बजे वीरगन्ज महानगरपालिका–११ रानीघाट क्षेत्रमा चौरसियामाथि धारिलो हतियार प्रहार गर्नुका साथै निर्घात कुटपिट गरिएको थियो। गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रेम सम्बन्धबाट उत्पन्न रिस र आवेगका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



