काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर रहेका सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक सुकुमवासी र अतिक्रमणकारीलाई स्पष्ट रूपमा छुट्याउने सरकारी योजना अघि बढाइएको बताएका छन्।

काठमाडौंका विभिन्न स्थानमा सुकुमवासी बस्ती हटाउने तयारी भइरहेका सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै वास्तविक पीडितहरूको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राख्ने स्पष्ट पारे। उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरेका वास्तविक सुकुमवासीलाई जग्गा उपलब्ध गराउने योजना बनाइएको छ।
वर्षौंदेखि समाधान हुन नसकेको यस समस्यालाई वर्तमान सरकारले स्थायी रूपमा सम्बोधन गर्ने प्रतिबद्धता पनि उनले जनाए। काठमाडौंका खोला किनारसहित अन्य क्षेत्रहरूमा पनि हजारौं परिवार वास्तविक रूपमा प्रभावित रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षित बसोबास सुनिश्चित गर्नु अत्यावश्यक रहेको बताए।
हरेक वर्ष बाढीका कारण नदी किनारमा बसोबास गर्ने नागरिकहरूले ज्यान जोगाउन सम्पत्ति छोड्नुपर्ने अवस्था दोहोरिँदै आएको भन्दै उनले दीर्घकालीन समाधान नखोजे समस्या निरन्तर रहने चेतावनी दिए।
प्रधानमन्त्री शाहले सुरक्षित आवासको विकल्प खोज्ने काम तत्काल अघि बढाइएको जानकारी दिँदै भविष्यमा यस्ता विपद् दोहोरिन नदिने लक्ष्य राखिएको बताए।
यसैबीच, काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीविरुद्ध प्रभावित समूहले विरोध प्रदर्शनसमेत गरेका छन्।


