वीरगन्ज, बैशाख ११ — फागुण २१ गते सम्पन्न निर्वाचनमा ४ वटै संसदीय क्षेत्र गुमाएपछि नेपाली कांग्रेस पर्साले आजदेखि ‘जरा अभियान’ कार्यक्रमको शुभारम्भ गरेको छ।
आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाका वडास्तरसम्म अभियान सञ्चालन गरिने नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए।
उनका अनुसार विगतका चुनावमा भएका कमी–कमजोरीलाई जरोदेखि सुधार गर्दै पार्टीलाई पुनः सशक्त बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो। कार्यक्रममा बोल्दै नेताहरूले आफूहरू कहाँ चुक भएको र किन अपेक्षित सफलता हासिल गर्न नसकिएको भन्ने विषयलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
नेताहरूले आगामी दिनमा पार्टीलाई थप मजबुत बनाउँदै जनताको विश्वास जित्न एकजुट भएर काम गर्नुपर्ने धारणा राखे।
उक्त कार्यक्रममा जिल्ला सभापति तथा पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्री रमेश रिजाल, पूर्व मन्त्री सुरेन्द्र चौधरी, पूर्व मन्त्री अजय चौरसिया, जिल्ला सचिव इम्तियाज आलम लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।



