पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य ले विगत ३५ वर्षदेखि देशमा जरा गाडेको कुशासन र अराजकता अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी तीव्र गतिमा अघि बढिरहेको बताएका छन् ।

आइतबार आयोजित राष्ट्रिय व्यवसायी महासंघको ८औं वार्षिक साधारणसभामा बोल्दै सांसद शाक्यले पुराना राजनीतिक दलहरूले सिर्जना गरेका विकृति र विसंगतिहरूलाई वर्तमान सरकारले हटाउने प्रयास गरिरहेको बताए । उनले दुई तिहाइ नजिकको बहुमत रहेको सरकारले सुशासन स्थापनाका लागि संसद् र कार्यपालिका दुवै तहबाट प्रभावकारी भूमिका खेल्ने दाबी गरे ।
उनका अनुसार बजारमा देखिएको अपारदर्शिता हटाउन अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रणाली लागू गर्नु सकारात्मक कदम हो । “एमआरपी नहुँदा बजारमा ठूलो अपारदर्शिता थियो, जुन आफैंमा विकृति थियो,” उनले भने, “अब ती बेथितिहरूलाई क्रमशः व्यवस्थित गर्ने काम भइरहेको छ, त्यसैले आत्तिनुपर्ने अवस्था छैन।”
साना तथा मझौला व्यवसायी विस्थापित हुने आशंकालाई उनले निराधार बताउँदै सरकार तथ्य, अध्ययन र सरोकारवालाको सुझावका आधारमा मात्र नीति निर्माण गर्ने स्पष्ट पारे ।
सांसद शाक्यले नेपाल विकासशील राष्ट्रतर्फ अघि बढिरहेको उल्लेख गर्दै आर्थिक स्तर उकास्न, व्यवसायमैत्री वातावरण सिर्जना गर्न र दीर्घकालीन आर्थिक सुधारका लागि सरकार गम्भीर रहेको समेत बताए ।



