Lucky-Khabar_

बारा यातायात कार्यालयका प्रमुखमाथि सेवाग्राही कुटपिट गरेको आरोप, ट्राफिक प्रहरीको भूमिकामाथि पनि प्रश्न

कलैया | बाराको यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख चिन्तन आचार्यमाथि एक सेवाग्राहीमाथि कुटपिट गरेको आरोप लागेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको सत्यता र सम्बन्धित निकायको भूमिकाबारे व्यापक चासो व्यक्त गरिएको छ।

content ad p2

प्रत्यक्षदर्शीका अनुसार घटनाका बेला ट्राफिक प्रहरीसमेत उपस्थित थिए। तर, तत्काल प्रभावकारी हस्तक्षेप नभएको आरोप लगाइएको छ। केही स्थानीयले ट्राफिक प्रहरीले कार्यालय प्रमुखको संरक्षण गरेको दाबी गरेका छन्। यद्यपि, यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय वा अन्य सम्बन्धित निकायले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

यातायात व्यवस्था कार्यालय, कलैया विगत केही वर्षदेखि सेवाप्रवाहमा ढिलासुस्ती, बिचौलियाको प्रभाव, अनियमितता तथा सेवाग्राहीलाई सास्ती दिने गरेको आरोपका कारण बेला–बेलामा विवादमा पर्दै आएको छ। यद्यपि, यी आरोपहरू सम्बन्धित निकायबाट कानुनी रूपमा पुष्टि भएका छैनन्।

कार्यालय प्रमुख चिन्तन आचार्यमाथि चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सेवामा बिचौलियामार्फत प्रभाव जमाउने गरेको आरोप पनि लाग्दै आएको छ। मन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै पुनः सोही कार्यालयमा काजमा आउने चर्चा हुने गरेको तथा मन्त्रीको नाम प्रयोग गरेर चन्दा असुलेको भन्ने दाबीसमेत गरिए पनि ती आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

यसैबीच, गत बिहीबार सञ्चालन गरिएको चालक अनुमति पत्रको ट्रायल परीक्षाको नतिजालाई लिएर पनि सेवाग्राहीले विभिन्न प्रश्न उठाएका छन्। परीक्षा प्रक्रिया निष्पक्ष र पारदर्शी थियो वा थिएन भन्ने विषयमा सम्बन्धित निकायबाट स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरिएको छ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढमा प्रहरी निरीक्षक हरि भट्टराईले नेतृत्व सम्हालेपछि बाराका नागरिकले ट्राफिक प्रशासन र यातायात सेवामा सुधारको अपेक्षा गरेका छन्। विगतमा लाइसेन्स, सवारी दर्ता तथा नवीकरणलगायतका सेवामा अनावश्यक झन्झट, आर्थिक चलखेल र बिचौलियाको प्रभाव रहेको गुनासो पटक–पटक उठ्दै आएको थियो।

स्थानीय नागरिक तथा सेवाग्राहीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा सरकारी कार्यालयमा हुने दुव्र्यवहार, बिचौलियाको प्रभाव र अनियमितता अन्त्य गर्दै सेवाप्रवाहलाई पारदर्शी, सहज र सेवामुखी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर